कैलाली । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा देशभर युवाहरूको सक्रियता बढ्न थालेको छ। यसैबीच चुरे गाउँपालिका वाड नं ५निवासी भाटले कैलालीको चुरे गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
भाट यसअघि नेकपा एमालेमा आबद्ध भएर चुरे गाउँपालिकाको समग्र विकास र स्थानीय जनताका सवालमा आवाज उठाउँदै आएका व्यक्ति हुन्। गाउँपालिकामा हुने विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न बेथिति र अन्यायका विषयमा उनी खरो रूपमा प्रस्तुत हुँदै आएका थिए।स्थानीय समस्या र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका भाटले सामाजिक सेवामा समेत आफूलाई सक्रिय राख्दै आएको बताइन्छ।
समाजसेवालाई निरन्तरता दिँदै आएका उनले अब राजनीतिक दलको झण्डाभन्दा माथि उठेर स्वतन्त्र रूपमा जनताको बीचमा जाने निर्णय गरेको बताएका छन्।भाटले हेलो टिभी न्युजसँग कुरा गर्दै चुरे गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको बताए।
उनका अनुसार चुरेको समग्र विकास, सुशासन र जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित आफू निर्वाचनमा जान लागेको हो।उनले पर्यटन, कृषि, सीप तथा उद्यममार्फत आत्मनिर्भरता, गुणस्तरीय शिक्षा, व्यवस्थित तथा सुरक्षित बजार, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, ग्रामीण सडक स्तरोन्नति तथा विद्युत् विस्तारलाई प्रमुख प्राथमिकतामा राखेका छन्।
त्यस्तै, स्थानीय कृषि उत्पादनको बजारीकरण, कृषकलाई उत्पादनमा प्रोत्साहन, पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवर्द्धन र युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने आफ्नो योजना रहेको भाटको भनाइ छ।
