२२ घन्टा पुरिएका सोनिस भन्छन्– आज मेरो अर्को जन्मदिन

२०७२ वैशाख १२ को भुइँचालो बेला भक्तपुर, मूलढोका–४ को एक भग्नावशेष घरमा २२ घन्टा पुरिएर उद्धार गरिएका बालक तपाईंहरूलाई याद छ नि!

त्यति बेला उनको फोटो निकै भाइरल भएको थियो। सेनाको उद्धार टोलीले काखमा बोकेका ती बालक धूलोमा लुटुपुटु थिए। उनको जिउमा सेतो लुगा थियो, शिरमा टोपी। धूलोले आँखाधरि हेर्न नसकेर चिम्म गरेका थिए।

जसै सेनाले उनको जिउको लुगा टक्टकाए, ओठमा लागेको माटो हटाए र हल्कासँग फू गरेर आँखाको धूलो झारे, उनले आँखा पुलुक्क उघारे। भुइँचालोको असह्य चोटमा एउटा खुसी मुसुक्क हाँसेको थियो।

अहिले ती बालक १० पूरा भएर ११ वर्ष लागेका छन्। आफ्नो त्यही फोटो देखाएर भन्छन्, ‘वैशाख १२ गते मेरो दोस्रो जन्मदिन हो नि! त्यो दिन म ठूलो भुइँचालोमा पुरिएर बचेको हुँ।’

ती बालकको नाम हो, सोनिस अवाल।

०७२ को भुइँचालोमा भग्नावशेष मूलढोकाको घर एक दशकमा ठडिइसक्यो। त्यही घरको दोस्रो तलाको भित्तामा दुइटा फोटा छन्। एउटामा बालक सोनिस माटोले लुटुपुटु छन्, अर्कोमा सेनाले उनलाई माटोबाट निकालेपछि हावामा उचालेर खुसी साट्दै गरेको देखिन्छ।

यी फोटा देख्दा सोनिसलाई कहिले को हो को हो भन्ने हुन्छ, कहिले भने आफै हुँ जस्तो लाग्छ।

उनले आफ्नो दुबिधा साट्दै हामीसँग भने, ‘ममी बाबा अनि अरूले मै हो भन्नुहुन्छ। मलाई पनि अहिले मै हो जस्तो लाग्छ। किनभने, त्यो बच्चाको र मेरो मुस्कान उस्तै छ नि त।’

सोनिसको एउटा बानी छ — उनलाई जे सोधे पनि लेघ्रो तान्दै जबाफ दिन्छन्।

अर्को बानी पनि छ — उनी चुलबुले छन्, चकचके छन्। तर उनलाई आफू ज्ञानी र सोझो छु भन्ने लाग्छ। भन्छन्, ‘म एकदम भोलाभाला छु। चकचक गर्दिनँ, होमवर्क सबै गर्छु। दिदीसँग झगडा पनि गर्दिनँ।’

सोनिसकी आमा रश्मिला र दिदी सोनियालाई भने उनको चकचक केटाकेटी उमेरले गर्दा हो भन्ने थाहा छ।

‘भाइ सानो छ र निकै चकचके छ। झगडा पनि गर्छ। उसको उमेर सानै भएकाले त्यो स्वाभाविक पनि हो,’ सोनियाले भनिन्, ‘ऊ चकचके भए पनि मायाले सम्झायो भने सबै कुरा मान्छ।’

भुइँचालो जाँदा सोनिससँगै ९ वर्षकी सोनिया पनि घरको भग्नावशेषमा पुरिएकी थिइन्। त्यस दिन आमा पसल हिँडेपछि सोनिया टिभी हेरिरहेकी थिइन्। छेउमा चार महिनाको भाइ सोनिस मस्त निदाइरहेका थिए। ठूलोबाका छोरीहरू रूबी र लक्ष्मी पनि आफ्नै धुनमा थिए। एक्कासि हेरिरहेको टिभी झल्याकझुलुक हुँदै झिरझिर गर्न थाल्यो। एकछिनमा फ्याट्टै निभ्यो।

त्यति बेलासम्म धर्ती हल्लिन थालिसकेको थियो। उनी बस्ने माटोको घर किरकिर गर्दै थर्थराइरहेको थियो। तर न सोनियाले चाल पाइन् न त रूबी र लक्ष्मीले। न सोनिसकै निद्रा टुट्यो।

बाहिर होहल्ला हुन थालिसकेको थियो। सबै ‘भुइँचालो आयो’ भन्दै भागाभाग गरिरहेका थिए।

सोनियालाई आफ्नै पैतलामुनिको भुइँ सरकसरक सरिरहेजस्तो लाग्न थाल्यो। भित्ताहरू चरकचरक फाटिन थाले। त्यहाँबाट फुसफुस धूलो झरिरहेको थियो।

काठका साँघुरा भर्‍याङबाट गुरर्रर झर्न मात्र आँटेकी थिइन्, उनलाई ‘प्यारो’ भाइ सोनिसको ख्याल आयो।

पसल जानुअघि आमाले भनेकी थिइन्, ‘टिभीमा मात्र भुल्ने होइन नि, भाइको पनि ध्यान राख्नू।’

‘हुन्छ ममी,’ उनले आश्वस्त पारेकी थिइन्।

त्यसै कारण भर्‍याङको पहिलो खुट्किलोमा पुगिसकेका उनका पाइला फरक्क पछाडि फर्के। मस्त निद्रामा सुतिरहेको भाइ सोनिसलाई च्यापेर उनी बाहिर निस्कन खोजिन्। तर मात लागेजसरी हल्लिरहेको दराज सोझै उनमा खप्टिन पुग्यो। त्यही तोडमा भाइ पनि हातबाट फुत्कियो।

५६ सेकेन्डको ताण्डवपछि भुइँचालो केही बेर शान्त भयो। पसल गएकी आमा रश्मिला छोराछोरीको चिन्ताले हाँपदाँप गर्दै फर्किन्। तर घर पूरै माटो भइसकेको थियो।

उनी मौन। निःशब्द।

उद्धारकर्ताले दुई घन्टाको अथक प्रयासपछि टाउको मुनि खुट्टा माथि भएर पुरिएकी सोनिया फेला पारे। उनी होसहवासमै थिइन्। हातगोडामा सामान्य चोट मात्र लागेको थियो।

सोनिस भने कतै फेला परेनन्।

सबैले माया मारेर रश्मिलालाई सान्त्वना दिन थाले। छोरी सकुशल फेला पर्नु नै ठूलो कुरा हो भन्दै सम्झाए। तर रश्मिला मौन थिइन्।

SonishAwale2-1745573867.jpg

राति ९ बजे भुइँचालोले ल्याएको भयानक शून्य चिर्दै मन्द आवाजमा बालक रोएको सुनियो। सबैका कान ठाडा भए। रोएको आवाज त्यही भग्नावशेषबाटै आइरहेको थियो। रश्मिलाले तत्काल चिनिहालिन्, यो आवाज सोनिसकै हो।

राति ११ बजेसम्म प्रयास गर्दा पनि उद्धार टोली सोनिस अड्किएको ठाउँसम्म पुग्न सकेन। उनीहरूले भोलिपल्ट बिहान ६ बजेदेखि फेरि खोज्न थाले।

अर्को दिन बिहान १० बजेतिर भुइँचालो गएको २२ घन्टापछि सोनिस सकुशल फेला परे।

घर माटोमा मिले पनि त्यस दिन रश्मिला र उनका पति कान्छा अवालको संसार उजाडिनबाट जोगियो। उनीहरूले भग्नावशेषमा आफ्नो छोराछोरी गुमाउनु परेन।

‘त्यति बेला सोच्दै नसोचेको घटना भयो। उनीहरू पुरेर नबाँचेको भए मेरो लागि जिन्दगीभरलाई पुग्ने दुःख हुन्थ्यो। तर मेरो माया र भगवानको कृपाले उनीहरू सकुशल बचे। अब मलाई कुनै कुराको खासै डर लाग्दैन,’ रश्मिलाले भनिन्।

भुइँचालोमा पुरिएर बचेकाले सोनिसलाई धेरैले ‘भूकम्प’, ‘भूकम्प बोई’ भनेर बोलाउँछन्। उनलाई भने त्यसरी बोलाएको मन पर्दैन।

‘मेरो आफ्नै नाम छ नि त,’ उनले लोघ्रो तान्दै भने, ‘मेरो नाम सोनिस हो नि। मलाई त सोनिस नै भनेको मन पर्छ।’

सोनिसलाई मात्र होइन उनकी आमालाई पनि त्यसरी बोलाएको मन पर्दैन।

‘मान्छेहरू उनलाई भूकम्प द्य (भगवान) भन्छन्। तर मलाई त्यसरी बोलाएको मन पर्दैन। भूकम्प उसले ल्याएको हो र भूकम्प भगवान भन्नलाई?’ प्रश्न गर्दै रश्मिलाले भनिन्, ‘उ त भूकम्पमा आफै पुरिएर बाँचेको पो हो त। त्यसैले उसलाई भूकम्प भगवान भनेको पटक्कै मन पदैन। त्यस्तो भन्नेलाई म गाली गर्छु।’

सोनिस अहिले भक्तपुरकै एभरेस्ट स्कुलमा कक्षा ५ पढ्दै छन्। उनलाई अंग्रेजी र नेपाली विषय मन पर्छ। गणित भने खासै रूचाउँदैनन्।

‘अंग्रेजी विदेश जान काम लाग्छ। नेपाली नेपाल बस्न काम लाग्छ। गणित पढ्यो भने त कन्डक्टर भइन्छ,’ उनले हाँस्दै आफूले पढ्ने विषयबारे आफ्ना धारणा सुनाए।

सोनिसका रहर छिनछिनमै परिवर्तन भइरहन्छन्। अहिले चारवटा कुरामा उनलाई रूचि छ — फुटबल, जिम्न्यास्टिक, गेमर बन्न र भ्लग बनाउन।

यीमध्ये भविष्यमा आफूलाई गेमर र फुटबल खेलाडी बन्न मन भएको सोनिसले बताए।

‘उसलाई पढाइमा खासै रूचि छैन तर खेल्नमा राम्रो छ। स्कुलमा सानैदेखि कुनै न कुनै खेलकुदमा सहभागि हुनुपर्थ्यो। त्यही भएर उसले जिम्न्यास्टिक सिकिरहेको छ,’ हालै नगरपालिकाले गरेको प्रतियोगितामा पनि सहभागी भएको बताउँदै रश्मिलाले भनिन्।

सोनिया भने अहिले फार्मेसीमा डिप्लोमा गर्दै छिन्। अहिले तेस्रो वर्षमा छिन्। उनलाई भुइँचालोको दिन सम्झिँदा अहिले डर लाग्दैन। तर त्यति बेला भोगेका घटना सम्झिँदा अत्यास लाग्छ।

‘त्यो दिन बाँचेर अहिलेसम्म यो संसार देख्न पाउँदा भगवानलाई धन्यवाद भन्न चाहन्छु। बाँच्न त बाँचियो तर दैनिक जीवनमा हुने कुरामा संघर्ष त बाँकी नै छ,’ उनले भनिन्।

आफ्ना दुई सन्तानलाई भुइँचालोको भयंकर घटनाबाट जोगाउन सफल भएकाले होला, रश्मिलामा डरभन्दा ज्यादा हौसला र प्रतिरोध देखिन्छ। भन्छिन्, ‘समस्या त आउँछन्, जान्छन्। घटना त भइरहन्छन्। तर डराएर/भागेर मात्र हुन्न। त्यसलाई कसरी सामाधान गर्ने भनेर हामीले सोच्नुपर्छ। भूकम्प जस्तो ठूलो घटना त पार गरियो, अब त्योभन्दा अर्को ठूलो घटना के होला र? त्यही भएर म कुनै पनि कुराको डरबाट पन्छिसकेको छु।’

सोनिस त झन् सानै छन्। न उनलाई कुनै कुराको पीर छ, न भुइँचालोको डर।

उनी भन्छन्, ‘भूकम्पदेखि मलाई डर लाग्दैन किनभने मैले त्यसबाट कसरी बच्ने भनेर सिकिसकेँ।’

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...