
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा माथि उठेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन एकजुट हुनुपर्ने बताएका छन्।
केही दिनयता अस्पताल सञ्चालनको विषयलाई लिएर उत्पन्न तनावका बीच मुख्यमन्त्री शाहले संयमित र सकारात्मक सन्देश दिँदै अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे।
बाक्लो सुरक्षा व्यवस्थाबीच आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूले आजसम्म सुरक्षा निकायको प्रयोग नगरेको स्मरण गराउँदै पछिल्ला गतिविधिका कारण सुरक्षा संयन्त्र आफैं सक्रिय भएको बताए। “आज पहिलो पटक मलाई मुख्यमन्त्री भएजस्तो महसुस भयो,” उनले भने, “तर यसलाई अन्यथा बुझ्न आवश्यक छैन। सबैभन्दा माथि आम नागरिक नै हुन्।”

मुख्यमन्त्री शाहले अस्पताल सञ्चालनलाई सबैको साझा दायित्वका रूपमा लिन आग्रह गर्दै विगतका विवादभन्दा अब सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए। “हिजो के भयो भन्नेभन्दा अब अस्पताल कसरी राम्रोसँग सञ्चालन गर्ने भन्ने विषय महत्वपूर्ण हो,” उनले भने, “प्रशासनिक निकायलाई बिना अवरोध काम गर्न दिऔं, यो समाधान हुने विषय हो।”
उनले अस्पतालको विषयमा आफूले कुनै व्यक्तिगत स्वार्थ नराखेको स्पष्ट पार्दै प्रदेश सरकार नागरिकको स्वास्थ्य सेवाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। “मैले यहाँ एक जना कार्यालय सहयोगीसमेत सिफारिस गरेको छैन,” उनले भने, “सबैको रोजगारी सुनिश्चित गर्ने जिम्मेवारी प्रदेश सरकारको हो।”
मुख्यमन्त्री शाहले प्रदेश र स्थानीय सरकारबीच सहकार्य तथा संवादको आवश्यकता औंल्याउँदै सुदूरपश्चिममा संवादको संस्कृति विकास गर्न आफू निरन्तर प्रयासरत रहेको बताए। “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्नुपर्छ,” उनले उल्लेख गरे।
उनले अझै पनि सबै पक्ष मिलेर अगाडि बढ्न सक्ने वातावरण रहेको भन्दै स्थानीय जनप्रतिनिधि र नागरिकलाई सकारात्मक भूमिका खेल्न आग्रह गरे। “अझै केही बिग्रिएको छैन, अब मिलेर अघि बढौं,” उनले भने।
मुख्यमन्त्री शाहले आधारभूत अस्पतालको संरचनाले ट्रमा सेन्टर सञ्चालन गर्न नसकिने भएकाले प्रादेशिक अस्पताल आवश्यक रहेको स्पष्ट पारे। उनले अस्पतालका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरिएको जानकारी दिँदै छिट्टै डायलासिस सेवा सञ्चालन गरिने घोषणा गरे।
उद्घाटन कार्यक्रममा उनले अस्पतालमा कार्यरत कर्मचारीलाई सुरक्षित र सहज वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न नागरिकको सहयोग आवश्यक रहेको बताए। “यो अस्पताल जनताको हो,” उनले भने, “यसको सफल सञ्चालनका लागि सबैको साथ र सहयोग चाहिन्छ।”