एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी परित्याग गर्दै कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

एमाले गाउँ कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्यसमेत रहेका तारामीले एमालेमा रहेर सक्रिय राजनीति गर्दै आएको उल्लेख गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

लामो समयदेखि चुरे गाउँपालिका वडा नम्बर ४ का जनतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सामाजिक र राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका तारामीले समाजसेवाको भावनालाई निरन्तरता दिँदै अबको राजनीतिक यात्रा स्वतन्त्र रूपमा अघि बढाउने निर्णय गरेका छन्।

उनले आगामी दिनमा चुरे गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।