नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डिला संग्रौला

नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डिला संग्रौला निर्वाचित भएकी छन् । १५औं महाधिवेशनबाट उनी महिला क्लस्टरतर्फ महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार भएको निर्वाचनबाट संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बन्न सफल भएकी हुन् । 

उनले महामन्त्री पदमा निर्वाचित भएलगत्तै कान्तिपुरसँग कुरा गर्दै जितले आफूलाई थप जिम्मेवारी प्राप्त भएको सुनाइन् । ‘म खुसी छु । अझ जिम्मेवारी थपिएको छ भन्ने महसुस गरेकी छु । अब नेपाली कांग्रेसलाई अझ सशक्त, जनताको लोकप्रिय पार्टी बनाउनपर्छ,’ उनले भनिन्,‘कांग्रेसलाई सबैले आफ्नो पार्टी महसुस गरुन् र नेपाली जनतामा आशा र भरोसा जगाउनुपर्छ भन्ने सोचेकी छु ।’

त्यहाँसम्म आउँन सहयोग गर्ने सबैप्रति कृतज्ञ रहेको उनले बताइन् । ‘राजनीतिक संघर्षको यो लामो यात्रामा कांग्रेसबाट मेची–महाकाली गरेको हुनाले साथीभाइले मलाई माया गरेर जिम्मेवारीमा पुग्नुपर्छ । हौसला दिनुहुन्थो । हकवाला हो भनेर नै मत दिएर त्यहाँसम्म पुर्‍याउनुभएको छ,’ उनले भनिन्,‘सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु । सबैले सोचेको, खोजेकोजस्तो कांग्रेस बनाउन सहयोग गर्नेछु । सबैसको बीचमा जाने, सल्लाह लिने र त्यहाँबाट अगाडि बढ्ने सोचेकी छु ।’  

डिलाले आफूलाई गरेको विश्वास र भरोसालाई पदमा निर्वाचित हुनुमा मात्र सीमित नराखी आन्तरिक लोकतन्त्रको सुदृढीकरण र जनअपेक्षा पूरा गर्ने ठूलो जिम्मेवारीका रुपमा लिएको जनाएकी छिन् । ‘मलाई विश्वास छ, मेरो व्यक्तिगत विजय नभई सम्पूर्ण परिवर्तनका पक्षधर, ऊर्जाशील युवा र निष्ठावान् कांग्रेसीहरुको साझा विजय हो,’ उनले भनिन् । संग्रौला पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने समेत बताएकी छिन् । 

Oplus_131072

लामो समयदेखि राजनीतिमा होमिएकी संग्रौला सामाजिक एकता र समानताको लागि वकालत गर्दै आएकी थिइन् । अबका दिन पनि हरेक महिलाहरुको आवाज समेटेर काम गर्ने बताइन् । ‘म पनि संघर्ष गरेर त्यहाँसम्म आएकी हुँ । हरेक महिलाहरुले संघर्ष गर्नुभएको छ । केहीले संघर्ष गर्दा पनि उहाँहरुले भूमिका, अवसर पाउनुभएको छैन । पहिचान भएको छैन । उहाँहरुको आवाज बोलिदिने मान्छे छैन,’ उनले भनिन्,‘अब महिलाहरुको आवाज बनेर काम गर्ने छु । परिवर्तनको योद्धा बन्छु । उहाँहरुको हक अधिकारको रक्षाका लागि सधैं आवाज उठाउँनेछु ।’

१६ वैशाख, २०२० मा दाङ मध्यमवर्गीय परिवारमा जन्मिएकी डीलाको बाल्यकाल सामान्य नै बित्यो । संग्रौला विद्यार्थी जीवनदेखि नै राजनीतिमा रुचि र चासो राख्थिन् । समय बित्दै गयो अध्ययन, परिवार, सन्तानको जिम्मेवारीसँगै राजनीतिमा अगाडि बढेकी लामो समयसम्मको संघर्ष र मेहेनतले आज पार्टीको नेतृत्वसम्म पुग्न सफल भएकी छिन् । 

उनका बुबा टिकादत्त पन्त र आमा विद्यावती पन्त दुवै जना शिक्षक थिए । दस सन्तान जन्माएकी उनकी आमाले सन्तानको स्यहारका लागि आफ्नो पेसा छाडेकी थिइन् । ठूलो पारिवारिक जिम्मेवारीबीच हुर्किएकी डिलाको बाल्यकाल दाङमै बित्यो । उनको परिवार नेपाली कांग्रेसको विचार र सिद्धान्तबाट प्रभावित थिए । त्यसैले डिलाले पनि राजनीति प्रति चासो र रुचि राख्ने गर्थिन् । संग्रौला २०३६ सालको जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा होमिएकी थिइन् ।  

२०३६ सालको जनआन्दोलनको समयमा संग्रौला कक्षा ९ मा अध्ययनरत रहँदा बहुदलको पक्षमा दाङ आएका कांग्रेस नेताहरुलाई नेपाल विद्यार्थी संघका अन्य सदस्यहरु मिलेर स्वागत गर्ने अवसर समेत पाएकी थिइन् । २०३७ सालमा एसएलसी पास गरेकी उनले त्यसपछिको अध्ययन महेन्द्र बहुमुखी क्याम्पस, दाङमा गरेकी थिइन् । अध्ययनको क्रममा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु सचिवमा निर्वाचित भएकी थिइन् । त्यसपछि संग्रौलाको राजनीतिप्रति चासो र रुचि अझ धेरै बढ्दै गयो । उनले त्यस समय कांग्रेसका नेता, कार्यकर्तासँग नजिक रहेर पार्टीको विचार, सिद्धान्त र राजनीतिक गतिविधिलाई बुझ्ने अवसर पाएकी थिइन् । 

केही वर्षपछि वैवाहिक जीवनमा बाँधिएकी संग्रौला महेन्द्र बहुमुखी क्याम्पस मोरङमा केही समय अध्यापन समेत गराएकी थिइन् । 

अध्यापनको स्थायी सेवा छाडेर उनी पुन: राजनीतिमा सक्रिय भएर लागिन् । विराटनगर, मोरङ घर भएकी संग्रौला विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएकी उनको राजनीति स्थानीय तह, जिल्ला हुँदै पार्टीको केन्द्रीय तहसम्म पुग्यो । यो अवधिभरि उनले राजनीतिक जीवनमा अवसरसँग मात्र नभएर धेरै चुनौतीसँग पनि लडेको अनुभव बटुलेकी छिन् ।

सामाजिक न्याय र पछौटेपन अन्त्यको लागि आफू सधैं समर्पित रहेको बताउने संग्रौला नेपाली कांग्रेसको नवौं महाधिवेशनमा महासमिति सदस्य, २०६४ सालमा कांग्रेसको मोरङ जिल्ला समिति उपसभापति, नेपाल महिला संघको अध्यक्ष भइन् । महत्त्वपूर्ण भूमिकामा रहेर काम गरेकी उनको राजनीतिक यात्रामा नेपाल महिला संघको भूमिका पनि महत्त्वपूर्ण रह्यो । महिला अधिकार, समानता र राजनीतिक सहभागिताका विषयमा सक्रिय रहँदै उनी संघको नेतृत्वमा पुगेकी थिइन् । उनी राजनीतिमा मात्र भने सक्रिय थिइनन् । संग्रौलाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) सम्मको अध्ययन समेत पूरा गरेकी छिन् ।  

पार्टीभित्रको प्रतिस्पर्धा, जिम्मेवारी प्राप्तिका कठिनाइ र अपेक्षा अनुसारको राजनीतिक मूल्यांकन नहुँदा पनि उनले आफ्नो सक्रियतालाई निरन्तरता भने दिइरहिन् । संग्रौला २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । संसदमा रहँदा उनले महिला अधिकार, सामाजिक न्याय र जनसरोकारका विषय उठाउने अवसर पाइन् । त्यसपछि पनि उनी पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहेर काम गरिन् । 

फलस्वरुप अहिले नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा संग्रौला निर्वाचित भएकी छिन् । उनले १५औं महाधिवेशनमा महिला क्लस्टरतर्फ ३ हजार १ सय १८ मत प्राप्त गरेर विजय हासिल गरिन् । महिला हक अधिकारका विषय साथै, परराष्ट्र मामिलाबारे अध्ययनमा रुचि राख्ने संग्रौला युवा पुस्तालाई अघि बढाउँदै पार्टीलाई आधुनिक बनाउने प्राथमिकता रहेको बताउँछिन् । 

महिला आन्दोलन, प्राध्यापन, साथै संगठनको अनुभवसहित उनले कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्थाले अबका दिनमा राजनीतिमा आउन चाहेका महिलालाई थप हौसला प्रदान गर्ने उनले सुनाइन् । ‘महिलाहरूलाई महत्त्वपूर्ण पोस्टमा नपुर्‍याएसम्म, नेतृत्व तहमा नपुर्‍याईकन अगाडि जान सकिन्न भनेर महिलाको लागि जुन सकारात्मक कार्य गरिएको छ । यसलाई सबै पार्टीले सिक्नुपर्छ,’ उनले भनिन्,‘अब महिला नेतृत्वमा जानुपर्छ भन्ने जागरण र चेतना आउनुपर्छ भनेर जुन ऊर्जा उठेको छ, त्यसलाई सम्मान प्रकट गर्छु ।’

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...