कैलाली जिल्ला निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आनन्द चन्दले हवाई भाडा महंगिएको प्रति असन्तुष्टि जनाएका छन् उनले आफ्नो फेसबुक मार्फत सुदूरपश्चिमका नागरिकमाथि हवाई भाडाको अत्याचार कहिलेसम्म? भनेर प्रश्न गरेका छन् उनले लेखेका छन्
सुदूरपश्चिमका नागरिकमाथि हवाई भाडाको अत्याचार कहिलेसम्म?
सम्माननीय प्रधानमन्त्रीज्यू तथा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
काठमाडौँबाट धनगढीसम्मको एकतर्फी हवाई भाडा पुनः बढेर रु. २२,१८० सम्म पुगेको समाचार सार्वजनिक भएको छ। यो अत्यन्त दुःखद, चिन्ताजनक र सुदूरपश्चिमका आमनागरिकको आर्थिक अवस्थाप्रति असंवेदनशील विषय हो।
सुदूरपश्चिम प्रदेशको गरिबी दर ३४.१६ प्रतिशत छ। अर्थात्, यहाँका प्रत्येक तीन जनामध्ये करिब एक जना गरिबीको रेखामुनि जीवन बिताउन बाध्य छन्।
म सरकार र हवाई सेवा प्रदायक कम्पनीहरूलाई एउटा प्रश्न गर्न चाहन्छु—
जुन प्रदेशका तीन जनामध्ये एक जना गरिब छन्, त्यही प्रदेशका नागरिकले काठमाडौँ–धनगढीको एकतर्फी यात्राका लागि २२ हजार रुपैयाँभन्दा बढी कसरी तिर्न सक्छन्?
के सुदूरपश्चिमका नागरिकले आफ्नो देशको राजधानीसम्म पुग्न पनि आर्थिक हैसियतको परीक्षा दिनुपर्ने हो?
काठमाडौँ–धनगढी हवाई मार्ग पर्यटकीय वा व्यावसायिक यात्राका लागि मात्र होइन। यो बिरामीको उपचार, विद्यार्थीको शिक्षा, वैदेशिक रोजगारी, अत्यावश्यक पारिवारिक काम र नागरिकका अन्य बाध्यतासँग जोडिएको जीवनरेखा हो।
उपचारका लागि काठमाडौँ जानुपर्ने बिरामी, आफ्ना सन्तान भेट्न जाने अभिभावक, परीक्षाका लागि यात्रा गर्ने विद्यार्थी तथा चाडपर्वमा परिवारसँग भेट्न घर फर्किने नागरिकलाई यस्तो महँगो भाडाले कस्तो पीडा दिन्छ भन्ने कुरा हामीले बुझ्नैपर्छ।
हामीले यसअघि पनि मलगायत धेरै माननीय सांसदहरूले हवाई भाडा अस्वाभाविक रूपमा नबढाउन सरकार र सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराएका थियौँ। तर आज फेरि त्यही समस्या दोहोरिएको छ।
हवाई कम्पनीहरूको सञ्चालन खर्च, इन्धनको मूल्य र व्यावसायिक बाध्यता हामी बुझ्छौँ। तर माग बढेको अवसरमा आमनागरिकको बाध्यतालाई अत्यधिक नाफा कमाउने माध्यम बनाइनु स्वीकार्य हुन सक्दैन।
त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यू तथा माननीय पर्यटनमन्त्रीज्यूसमक्ष मेरो विशेष आग्रह छ—
१. काठमाडौँ–धनगढी हवाई मार्गमा तत्काल कम्तीमा दुईवटा अतिरिक्त विमान परिचालन गरी थप उडानको व्यवस्था मिलाइयोस्।
२. नेपाल वायुसेवा निगम तथा निजी हवाई सेवा प्रदायक कम्पनीहरूसँग तत्काल समन्वय गरी यात्रुको चापअनुसार उडान संख्या बढाइयोस्।
३. हवाई भाडाको अधिकतम सीमा, वास्तविक टिकट मूल्य तथा अतिरिक्त शुल्कको प्रभावकारी अनुगमन गरी अस्वाभाविक भाडा असुली नियन्त्रण गरियोस्।
४. चाडपर्व तथा अत्यधिक यात्रु चाप हुने समयमा सर्वसाधारणले धान्न सक्ने भाडामा हवाई सेवा उपलब्ध गराउने विशेष व्यवस्था गरियोस्।
सुदूरपश्चिम भौगोलिक रूपमा राजधानीबाट टाढा छ। कृपया राज्यको सेवा र सुविधाबाट पनि टाढा नबनाइदिनुहोस्।
हामी विशेष सुविधा मागिरहेका छैनौँ। हामी सुदूरपश्चिमका नागरिकका लागि न्यायोचित भाडा, सहज यात्रा र राज्यको समान व्यवहार मागिरहेका छौँ।
गरिबी नागरिकको बाध्यता हुन सक्छ, तर त्यो बाध्यतामाथि थप आर्थिक बोझ थोपर्नु राज्यको विवशता बन्नु हुँदैन।
सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूले यस विषयलाई गम्भीरतापूर्वक लिई तत्काल ठोस निर्णय गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
सुदूरपश्चिमका नागरिकलाई महँगो हवाई भाडाको मारबाट राहत दिन अब आश्वासन होइन, तत्काल कार्यान्वयन आवश्यक छ।
डा. आनन्द बहादुर चन्द
प्रतिनिधिसभा सदस्य, कैलाली निर्वाचन क्षेत्र नं. ५

