प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफूलाई एक्लो नठान्न पीडित नागरिकहरुलाई आग्रह गरेका हुन्। ‘हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।,’ शाहले लेखेका छन्।
शनिबार बिहान नुवाकोटको विदुर—१० बेत्रावतीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको समेत प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। यो खबर खोज तथा उद्धारमा सरकार ‘अझैं डटेर लागिरहेको छ’ भन्ने सन्देश पनि भएको शाहको भनाई छ।
