शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारबीच प्रदेशका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने समझदारी भएको छ। यसका लागि प्रदेश सरकार र विश्वविद्यालयबीच २० वर्षको सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयमा मन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच शिक्षण अस्पतालका रूपमा अस्पताल प्रयोग गर्ने सम्बन्धमा समझदारीपत्र (MOU)मा हस्ताक्षर गरिएको हो।समझदारीअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिनेछ।
सम्झौताले स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिकल अध्ययन तथा अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेशमा उपलब्ध जनशक्ति, भौतिक पूर्वाधार तथा स्रोतसाधनको अधिकतम र प्रभावकारी उपयोग गर्ने लक्ष्य राखेको छ।विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन स्वीकृति प्राप्त एमबीबीएसलगायत स्नातक, स्नातकोत्तर, डीएम/एमसीएच तथा पीएचडी तहका स्वास्थ्य विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ। साथै, अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गुणस्तरीय क्लिनिकल शिक्षा प्रदान गर्नुका साथै उनीहरूको शैक्षिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ।
