सुदूरपश्चिम प्रदेशमा पाचवर्ष नपुग्दै पाँच पटक सरकार परिवर्तन हुँदा ४१ जना प्रदेश सभा सदस्य मन्त्रि भएका छन्। जसमा चार जना मुख्यमन्त्री बन्न सफल भएका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ जना मात्रै सदस्य छन्। पाँच पटक सरकार परिवर्तन हुँदा चार जना मुख्यमन्त्रीसहित ४१ जनाले मन्त्रीका रुपमा गाडीमा राष्ट्रिय झन्डाले फहराउँदै हिड्ने अवसर पाएका हुन्।
२०७९ को मंसिरमा भएको निर्वाचनबाट पुस २७ गते एमालेका राजेन्द्रसिंह रावल दोस्रो कार्यकालको पहिलो तथा सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि २०७४ मा भएको निर्वाचनबाट नेपाली कम्युनिस्ट पार्टीका त्रिलोचन भट्ट पूरै कार्यकाल अर्थात् पाँच वर्ष नै मुख्यमन्त्री भएका हुन्।
सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावल एक महिने मुख्यमन्त्री हुन्। संसदमा बहुमत पुगाउन नसक्दा उनले २०७९ माघ २६ मा राजीनामा दिनुपरेको थियो।
रावलको राजीनामापछि तेस्रो मुख्यमन्त्रीमा सत्तारोहण गरेका काँग्रेसका कमलबहादुर शाह दुई पटक मुख्यमन्त्रीको शपथ खान पाउने एक्ला व्यक्ति हुन्। पहिलोपटक २०७९ माघ २६ गते मुख्यमन्त्री भएका उनको नेतृत्वमा सरकार २०८० चैत २२ गतेसम्म रह्यो। त्यसपछि एमाले, माओवादी र समाजवादीको गठबन्धन निर्माण हुँदा चौथो मुख्यमन्त्रीको रुपमा तत्कालीन समाजवादीका दीर्घबहादुर सोडारी २०८२ बैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।
उनले एक सय दिनमै साउन १८ गते राजीनामा दिनु परेको थियो। त्यसपछि पाँचौं मुख्यमन्त्रीका रुपमा मुख्यमन्त्री कमलबहादुर शाहले २०८१ साउन २० गते नियुक्ति बुझेका हुन्। शाहले साउन २८ गते राजीनामा दिए।
