नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको छ। पार्टी फुटेपछि नागरिक उन्मुक्तिकै पृष्ठभूमिबाट आएका चार जना पुराना नेताहरूले चार फरक–फरक राजनीतिक दलबाट उम्मेदवारी टिकट प्राप्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका पूर्व केन्द्रीय सदस्य रामलाल डगौरा, जो २०७९ सालको स्थानीय तह निर्वाचनमा टिकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए, हाल सो पदबाट राजीनामा दिएर नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा संस्थापकसमेत रहेका रेशम चौधरी हाल नागरिक उन्मुक्ति नेपाल पार्टीबाट उम्मेदवार बनेका छन्।
पूर्व केन्द्रीय सदस्य प्रदीप चौधरी भने अहिले उज्यालो नेपाल पार्टीबाट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
यसैगरी, नागरिक उन्मुक्ति पार्टीकी पूर्व केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञावलीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी टिकट पाएकी छन्।
एउटै पार्टीबाट राजनीति सुरु गरेका नेताहरू पार्टी विभाजनपछि फरक–फरक दलमा आबद्ध भई एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उत्रिनुले कैलाली क्षेत्र नं. १ को राजनीतिक समीकरण थप चासोको विषय बनेको छ।

