डिजे, व्यवसायी, समाजसेवी हुँदै आन्दोलनकारी प्रतिनिधि बनेका सुदन गुरुङ अहिले जेनजी आन्दोलनको अगुवा अनुहारका रूपमा शीतल निवासमा वार्तामा सहभागी छन्। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री, गृहमन्त्री र प्रधानसेनापति अशोकराज सिग्देलसहितका उच्चपदस्थ अधिकारीहरूसँग उनी बराबरीमा बसेका छन्।
कसैकसैले उनलाई “नेपाली मूलका भारतीय” भनेर अफवाह फैलाए पनि सुदन गुरुङ जन्मजात नेपाली हुन्। उनी काठमाडौँमा जन्मिए पनि उनको स्थायी ठेगाना गोर्खा, चुमनुव्री गाउँपालिका–३ हो।
प्रारम्भिक जीवन र क्लबको दुनियाँ
सुधनको शैक्षिक यात्रा सामान्य थियो। एसएलसीपछि ए लेभलसम्म पढे। यौवनकालमा साथीभाइको संगतमा क्लब, डिस्को जान थाले। त्यही वातावरणमा उनी डिजेको रूपमा चिनिए। ठमेलमा उनले OMG नामक क्लब सञ्चालन गर्न थाले, जसबाट राम्रो आर्थिक लाभ लिएका थिए।
भूकम्पपछि समाजसेवातिर मोड
२०७२ को विनाशकारी भूकम्प सुदनको जीवनको टर्निङ पोइन्ट बन्यो। वीर अस्पतालमा घाइतेहरूको सेवा गर्दै गर्दा उनले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्था (NGO) दर्ता गरे। संस्थाले शुरुमा राहत वितरण, पानी आपूर्ति र भोलिन्टियर कार्यहरूमा काम गर्यो। हाल यसमा १६०० भन्दा बढी सदस्य छन् र विदेशी सहयोग पनि पाइरहेको छ। संस्थाका संरक्षक प्रख्यात आँखाका चिकित्सक डा. सन्दुक रुइत हुन्।
रियल स्टेटदेखि वाटर स्पोर्ट्ससम्म
सुधनले रात्रिकालीन व्यवसाय परित्याग गर्दै रियल स्टेट, घरजग्गा कारोबार तथा साहसिक पर्यटनतर्फ मोडिए। पोखराको फेवातालमा २५ वर्षे टेन्डर लिएर उनले वाटर स्पोर्ट्स सञ्चालन गरिरहेका छन्।
कोरोनाकालमा सक्रियता
कोरोना महामारीका बेला उनले अक्सिजन सिलिन्डर, औषधि र आपतकालीन राहत वितरणमा सक्रियता देखाए। उनका थुप्रै सहयोगात्मक भिडियो युट्युबमा अझै हेर्न सकिन्छ।
हर्क साम्पाङ र सेभ घोपा आन्दोलन
सुधनको सम्बन्ध धरानका मेयर हर्क साम्पाङसँग पनि घनिष्ठ छ। साम्पाङको श्रमदान अभियानमा उनी सहभागी भए। पछि आफ्नै समर्थकहरू सहित ‘सेभ घोपा’ आन्दोलनको अगुवाइ गरे।
जेनजी आन्दोलनमा नेतृत्व
आज सुदन ‘हामी नेपाल’ संस्थामार्फत जेनजी आन्दोलनको अग्रपंक्तिमा छन्। आन्दोलनको प्रमुख अनुहारका रूपमा उनले नेतृत्व मात्रै गरेका छैनन्, उच्चस्तरीय वार्तामा समेत भाग लिएका छन्। सुरुमा संस्थाले पानी वितरण र स्वेच्छिक कामका लागि बनाइएको भनिए पनि, आन्दोलन चर्किएसँगै संस्थासम्बन्धी धेरै सामग्री हटाइएको छ।
