दबाब र विरोधपछि अन्ततः सरकार पछि हट्यो, बहुविवाहलाई मान्यता दिने विधेयक नआउने

चौतर्फी विरोध र व्यापक दबाबपछि सरकार बहुविवाहलाई कानुनी मान्यता दिने विवादास्पद प्रस्तावबाट पछि हटेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै समाजमा नकारात्मक असर पार्ने कुनै पनि विधेयक सरकारले नल्याउने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकी फौजदारी संहिता संशोधन गरेर बहुविवाहलाई मान्यता दिन लागिएको समाचार सार्वजनिक भएपछि सांसद, नागरिक समाज र मानव अधिकार आयोगले समेत सरकारको चर्को आलोचना गरेका थिए । संसदमा बोल्दै मन्त्री चौरसियाले भने, ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानका आधारमा आएको व्याख्याले आममानिसमा अन्योल र आक्रोश सिर्जना भएको छ, तर म स्पष्ट पार्न चाहन्छु, समाजलाई नकारात्मक असर पार्ने बहुविवाहलगायत कुनै पनि विधेयक संसद्मा पेस हुँदैन ।’

कसरी अघि बढेको थियो मस्यौदा ? मन्त्री चौरसियाले मुलुकी संहिताहरूमा देखिएका समस्या समाधान गर्न सुझाव संकलन गरिएको र सोही आधारमा मस्यौदा तयार पारिएको भने स्वीकार गरे । सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. आनन्दमोहन भट्टराई र तत्कालीन महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल संयोजकत्वका कार्यदलले दिएका प्रतिवेदनलाई आधार मानेर संशोधन प्रक्रिया अघि बढेको थियो ।

उनका अनुसार, उक्त मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलका लागि पुगिसकेको थियो । छलफलका क्रममा बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत र राष्ट्रपतिबाट दिइने माफी जस्ता संवेदनशील विषयमा थप अध्ययन आवश्यक देखिएकाले प्रधानमन्त्री कार्यालयका कानुन सचिवको संयोजकत्वमा नयाँ उपसमिति गठन गरिएको उनले जानकारी दिए ।

मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बहुविवाहलाई प्रश्रय दिने गरी कानुन संशोधन गर्न लागिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले यो विषयमा छलफल गर्न मन्त्रालयसँग संशोधन मस्यौदा माग गरिसकेको बताएको छ ।

“बहुविवाह कानुनी कसुर मात्र नभई मानव अधिकारसँग सम्बन्धित गम्भीर विषय हो,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कानुन निर्माण र संशोधन गर्दा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्नुपर्ने लोकतान्त्रिक मान्यतामा आयोग दृढ छ ।” आयोगले कानुन संशोधन गर्दा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको पालना गर्न पनि सरकारलाई स्मरण गराएको छ ।

मन्त्री चौरसियाले सांसद र सार्वजनिक वृत्तबाट प्राप्त सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको र त्यसले विधेयकलाई परिष्कृत गर्न सहयोग पुग्ने बताउँदै समाजलाई प्रतिकूल असर गर्ने कुनै विधेयक नआउने कुरामा आश्वस्त पारे ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...