कैलालीबाट श्रोत नखुलेको झण्डै ९ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–५, गुलरीयाघाट भन्सार कार्यालय नजिकै उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गको साथबाट श्रोत नखुलेको ८ लाख ९६ हजार ६६० रुपैयाँ सहित पक्राउ गरेको हो ।

गर्गले चलाईरहेको यूपी ३२ एचएच ६७५३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकल चेकजाँच गर्दा निज गर्गले सुर्के थैलीमा कम्मरमा बाँधेर राखेको अवस्थामा सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।बरामद भएको पैसा, मोटरसाईकल तथा निजलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सत्ती पठाइएको प्रहरीले जनाएको छ ।
