
दिपक बिश्वकर्मा
भारतको बेङ्लोरमा एक नेपाली सुरक्षागार्डमाथि योजनाबद्ध रूपमा कुटपिट भएको घटना सार्वजनिक भएको छ। पीडितका अनुसार, काम गरिरहेका बेला एक नेपाली महिला काम खोज्न आएको र उनलाई कामको बारेमा जानकारी दिने क्रममा महिलाले गलत बुझेर आफ्ना आफन्तलाई बोलाइन्। त्यसपछि ती आफन्तहरूले आक्रमण गरी निर्मम कुटपिट गरेका थिए।
पीडितको परिवारका अनुसार उक्त घटना फागुन २७ गते राति भएको हो। सुरक्षागार्ड ड्युटीमा रहेका बेला ती महिला कामको खोजीमा आएकी थिइन्। उनीसँग सामान्य कुराकानी भएपछि महिलाले गलत बुझाइ गरिन् र आफ्ना आफन्तलाई बोलाइन्। अचानक आएका व्यक्तिहरूले सुरक्षागार्डलाई दुर्व्यवहार गर्दै कुटपिट गरे।
पीडितकी छोरीले यस घटनालाई नियोजित षड्यन्त्र भएको बताउँदै भनिन्, “मेरो बुवा निकै सोझो र इमानदार व्यक्ति हुनुहुन्छ। उहाँले कहिल्यै कसैलाई नराम्रो व्यवहार गर्नुभएको छैन, तर योजनाबद्ध रूपमा फसाउने प्रयास भएको छ।”
पीडितका अनुसार, कुटपिट मात्र होइन, उनलाई ज्यान मार्ने धम्की समेत दिइएको छ। सामाजिक सञ्जालमा समेत उनको चरित्रहत्या गर्न खोजिएको छ। उनले रोहित गिरि र जगत ओलिले मिलेर आफूलाई योजनाबद्ध रूपमा फसाएको आरोप लगाएका छन्।
पीडित कालिकोट, लुसाका स्थायी बासिन्दा हुन्। उनी हाल आफ्ना छोराछोरीको पढाइका लागि भारत गएका थिए। उनले आफूलाई न्याय दिलाउन स्थानीय प्रहरी तथा नेपाली समुदायसँग सहयोगको अपिल गरेका छन्।
यस घटनामा संलग्न भनिएका व्यक्तिहरूको प्रतिक्रिया भने आउन बाँकी छ। प्रहरी स्रोतका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। पीडितका परिवार तथा नजिकका व्यक्तिहरूले निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको माग गरेका छन्।
नेपाल सरकार तथा भारतस्थित नेपाली दूतावासले पनि यस घटनालाई गम्भीर रूपमा लिएर छानबिन अघि बढाउनु पर्ने पीडित पक्षको माग रहेको छ। पीडित परिवारले नेपाली समुदायलाई समेत आफ्नो समर्थन जनाइदिन आग्रह गरेका छन्।