
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालय सार्ने विषयमा विवाद हुँदा स्थानीयले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । हालको वडा कार्यालय सबैको पायक पर्ने ठाउँमा नभएकोले सारिनु पर्ने माग राखी स्थानीयले वडामा ताला लगाएको स्थानीय सन्तोष बोहराले जानकारी दिनुभयो । तालाबन्दी गर्ने स्थानीयले देहिमान्डौमा रहेको कार्यालय गौरेलीमा बनाइनुपर्ने माग राखेका छन् ।
कार्यालयको विषयमा छलफल गर्न वडाले सोमबार स्थानीयलाई बोलाएको थियो । छलफलमा उपस्थित केहीले गौरेलीमा वडा कार्यालय बनाउँदा सबैलाई पायक पर्ने बताएका थिए भने केहीले हालकै ठाउँमा कायम हुनुपर्ने अडान राखेका थिए । हिन्नेकाँडाका स्थानीयले देहिमान्डौबाट कार्यालय सार्न नहुने भन्दा पातल, दोगड, रोडिङ, देही, भुवा र पछेडी गाउँकाहरुले गौरेलीमा कार्यालय सारिनुपर्ने माग राखी ताला लगाएका हुन् ।
वडा कार्यालयको विषयमा छलफल गर्न स्थानीयलाई बोलाइएको भए पनि सहमति जुट्न नसकेको वडा अध्यक्ष खगेन्द्र ओझाले बताउनुभयो । आफूहरू जनताकै चाहनाअनुसार अगाडी बढ्न चाहेको भए पनि जनतामा नै फरक मत देखिएको अध्यक्ष ओझाको भनाई छ ।
