
जागरण टाईम्स
दोलखा, २८ फागुन ।
ठूला दुर्घटनामा अस्पतालमा कसरी उपचार हुन्छ ? धेरैलाई जिज्ञासा हुन सक्छ । अस्पतालको क्षमता कति हो ? कहिले काँही समयमा डाक्टर नआउने ? उपचारमा डाक्टरले हेलचेक्र्याईँ गर्ने जस्ता कारण विरामीको ज्यान समेत जान सक्छ ।
दोलखामा बागमति प्रदेशस्तरको एक मात्र अस्पता पशुपति चौलागाई स्मृति अस्पतालमा यस्ता घटनामा आकस्मिक उपचारमा मुकड्रिल (पूर्व अभ्यास) गरिएको छ ।

दुर्घटना, भुकम्प जस्ता विपद् गइ हाले घाइतेहरुको भीड लाग्ने अवस्थामा कसरी उपचार गर्ने भन्ने बारेमा अस्पतालले पूर्व अध्यास गरेको हो ।
पूर्व अभ्यासका क्रममा आकस्मिक कक्षमा शैया, चिकित्सकहरु र औषधी तयारी अवस्थामा थियो । आकस्मिक कक्ष बाहिर पनि केही शैयाहरु भुइमै राखिएका थिए । बाहिर पनि स्टेचरहरु तयारी अवस्थामा थिए ।

यही बीचमा सबैलाई अस्पताल गेट अगाडी भेला गराए र भीमेश्वर नगरपालिका वडा नं. ७ मा गाडी दुर्घटना भएको सबै आ–आफ्नो ठाउँमा तयारी अवस्थामा बस्न निर्देशन दिए । लगत्तै सुरक्षा गार्डले सिट्ठी फुके सबै आ–आफ्नो ठाउँमा तयारी अवस्थामा बसे ।
केही बेरमै एम्बुलेन्स साइरन बजाउँदै अस्पताल भित्र छि¥यो । एम्बुलेन्समा प्रहरी समेत थियो । धमाधम एम्बुलेन्सबाट घाइते निकाले र आकस्मिक कक्षमा लगियो । चिकित्सक र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा भएकाले धमाधम उपचारमा लागे । लगत्तै फेरि २ वटा थप एम्बुलेन्स पनि आए ।

तर एम्बुलेन्समा आएका सबैभन्दा पहिला आकस्मिक कक्षमा राखेर उपचार गर्न लागे । क्रमशः आउनेलाई आकस्मिक कक्षमा शैया भरिएपछि तयारी अवस्थामा रहेका भुइमै राखेर उपचार सुरु भयो । विरामीको अवस्था हेरि सबैभन्दा गम्भिरलाई रातो, त्यसपछि पहेंलो र हरियो स्टिकर टाँसियो । सोही अनुसार उपचार सुरु भयो ।

यो सबै साँच्चैको घटना भने थिएन । यस्ता दुर्घटना भइ हालेमा कसरी उपचार गर्ने भन्ने बारे आकस्मिक घटनाका बारेमा अस्पतालमा गरिएको नमूना अभ्यास हो । अस्पताल मेसु डा ज्ञानेश्वर श्रेष्ठले आकस्मिक दुर्घटनापछि अस्पतालले कसरी उपचार गर्नु पर्छ भनेर स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गरेको बताए ।
दोलखामा यस्ता घटना पटक पटक हुन्छन् । कतिले छिटो छरितो उपचार नपाउँदा ज्यान समेत जाने गरेकाले विपद् व्यवस्थापनमा आकस्मिक दुर्घटनामा कसरी उपचार गर्ने भन्ने तयारीका लागि पहिलो पटक अभ्यास गरिएको हो । आकस्मिक कक्षमा उपचार गराइरहेका विरामीलाई कसरी हेरचाह र उपचार गर्ने सबै अभ्यास भए ।

घटनास्थलबाट उद्धार गरेर अस्पतालसम्म ल्याउन, घाइतेका रुपमा अभ्यास गर्ने प्रहरी र सशस्त्र प्रहरी थिए । यस्ता दुर्घटनाका बेला सिट्ठी बजेपछि जो जो जुनजुन भुमिकामा भए तापनि सबै स्वास्थ्यकर्मी आकस्मिक उपचारको लागि तयारी अवस्थामा हुनु पर्ने सन्देश दिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण प्रधानले पूर्व अभ्यास महत्वपूर्ण भएकोले अब अस्पताल विरामीको उपचारका लागि जस्तोसुकै परिस्थितिमा पनि तम्तयार छ भन्ने उदाहरण भएको बताए । अस्पतालमा भएको यस्ता पूर्व तयारी अभ्यासले अस्पतालको आन्तरिक तयारी, कर्मचारीको मनोबल र घाइतेले नवजीवन पाउने सम्भावना बढ्छ ।

पूर्व अभ्यासपछि स्वास्थ्यकर्मीहरुले पहिलो पटक यस्तो अभ्यास गर्दा आफूहरुलाई पछि काम गर्न सहज हुने प्रतिक्रिया दिए । अभ्यासका क्रममा केही कमजोरी देखिए तापनि वास्तविक उपचारका क्रममा आफूहरुलाई सहज बनाउने बताए ।
सडक सञ्जाल विस्तार र सवारीको प्रयोग बढेसँगै सडक दुर्घटना समेत बढ्दै गएका छन् । सवारी दुर्घटना, आगोलागी, भुकम्प, चट्याङ, बाढी पहिरो जस्ता विपद्का घटनामा वर्षेनी धेरैको ज्यान जाने गरेका छन् । घटनापछि चाँडोभन्दा चाँडो अस्पताल ल्याएपछि समयमै उपचार पाउन सके धेरैको ज्यान जोगिन सक्छ ।










