खगेन्द्र सुनारमाथि छानबिन सुरु

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ ।

अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुऱ्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ ।

साथै, राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...