वैद्यखाना विकासमा चासो

सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधीको उत्पादन बढाउन, कच्चा पदार्थका लागि आवश्यक जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपभोगका सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो सङ्कलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तर्क्रिया’ पछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठनको निर्णय भएको हो । 

सल्लाहकार डा. अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल बनाई तीन महिनाभित्र समितिको विकासको खाका तयार गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समितिको विकासका लागि जडीबुटीको दिगो सङ्कलनका साथै सम्बन्धित विभिन्न निकायबिच आवश्यक समन्वय र सहजीकरण गर्नुहोस्, तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजनासहित काम गर्नुपर्ने छ ।”  डा. अग्रवालले तत्कालका लागि मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधीको सङ्ख्या बढाउने र आगामी दिनमा विदेशमा पनि निर्यात गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधीको कच्चा पदार्थका रूपमा रहेको जडीबुटी सङ्कलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेको बताउनुभयो । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेद औषधीका लागि आवश्यक कच्चा पदार्थको सङ्कलन र उपयोगका सम्बन्धमा मन्त्रालयबाट आवश्यक सहजीकरण हुने बताउनुभयो । 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी सङ्कलनका लागि सरोकारवालाबिच समन्वय र कानुनी स्पष्टताको आवश्यकता औँल्याउनुभयो  । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउनका लागि किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’ मा जानुपर्नेमा जोड दिनुभयो ।    

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...