एमालेमा ओली राज नेतृत्व नछाड्ने अडान, कार्य दलको प्रतिवेदन आउट

नेकपा एमालेको नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठन हुनुपर्ने सिंगो कार्यकर्तापङ्तिको मागलाई लत्याउँदै अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पद नछाड्ने अडान राखेका छन् । 

कतिसम्म भने अध्यक्ष ओलीले सातै प्रदेशबाट कार्यकर्ताले दिएको पार्टी पुनर्गठनको माग समेटिएको कार्यदलको प्रतिवेदनलाई केन्द्रीय समितिमा राख्न समेत मानेनन् । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय भोगेको र भदौं २३- २४ का घटनाबाट तत्कालीन प्रधानमन्त्रीबाट सत्ताच्यूत भए पनि ओलीले त्यसलाई आफ्नो कमजोरीका रुपमा प्रतिवेदनमा स्वीकार समेत गरेका छैनन् ।

एमाले केन्द्रीय कमिटी बैठकले ६ महिनापछि बल्ल गत फागुन २१ को निर्वाचनको समीक्षा गर्दैछ । तर, चार महिना पहिले नै पार्टी पुनर्गठनका लागि तल्ला कमिटीबाट आएको सुझावसहितको प्रतिवेदन भने यो केन्द्रीय कमिटीमा छलफल नै नहुने भएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले कार्यदलको प्रतिवेदनलाई स्वीकार गर्नु त परको कुरा, छलफलमा लैजान समेत मानेनन् । बरु अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प शीर्षक दिइएको ८८ पृष्ठको प्रतिवेदनमा नेतृत्व छाड्दै नछाड्ने अडान पेस गरे । 

उनले आफूमाथि प्रश्न उठाउने नेता कार्यकर्ताको कडा आलोचना गर्दै अनुशासनहीन भनेका छन् । उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेश पुगेर तयार सुझाव ल्याएको थियो । 

चार महिनाको मिहिनेत र कार्यकर्ताको सुझावसहितको प्रतिवेदन छलफलको कार्यसूचीमै नभएपछि कतिपय नेताले असन्तुष्टि पोखेका छन् । तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठक अब ओलीको निर्देशनको वरिपरि घुम्ने जस्तो देखिँदैछ । एमालेका कतिपय नेताहरुले भने अध्यक्ष ओलीले आत्माआलोचित भएर कार्यदलले दिएको सुझावसहित प्रतिवेदन पेस भएको भन्नुले त्यसैको संकेत गर्छ ।

उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरुले कार्यदलको प्रतिवेदनअनुसार नेतृत्व परिवर्तनसम्मको कुरा उठाउँदै आएका थिए । तर, अध्यक्ष ओलीले आफूलाई कसैले हटाउन नसक्ने चेतावनी दिइरहेपछि अहिले उनीहरु पनि गल्दै गए जस्तो देखिन्छ । 

अहिलेको अहं प्रश्न भनेको पार्टी शिथिल र कार्यकर्ता निरास भएको पछिल्लो अवस्थामा तीन दिनसम्म चल्ने एमाले केन्द्रीय कमिटीले अध्यक्ष ओलीकै चाहनालाई अनुमोदन गर्ला कि परिवर्तनको मुद्दालाई अघि बढाउला भन्ने हो ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...