निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुइ स्थानीय तहका उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले सम्बन्धित पालिका तथा तहका निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको हो।
आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको हो।

