बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन्।
बागमती प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिने भएका हुन्। उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
नेपालको संविधानको धारा १६८ को २ बमोजिमको भदौ ३ गते मुख्यमन्त्रीको दाबी पेस गरेका उनले बिहीबार मुख्यमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको सपथ लिएका थिए।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ। निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ।
