कैलालीमा खाद्यले ५५ हजार क्वीन्टल धान खरिद गर्दै, यस्तो छ खरिद मूल्य

खाद्य तथा व्यापार कम्पनी लिमिटेड धनगढीले कैलालीका तीनवटा गोदामबाट धान खरिद गर्न सुरु गरेको छ।

प्रतिकिलो ३४ रुपैयाँका दरले धान खरिद गर्न दररेट समेत निर्धारण गरिएको छ। खाद्य तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय, धनगढीले सूचना नै जारी गरेर ३४ रुपैयाँ ११ पैसा प्रतिकिलोका दरले धान खरिद गर्ने जनाएको छ। 
धनगढीस्थित मोहनपुर गोदाम, टीकापुर र शक्ति गोदाममा आइतबारदेखि धान खरिदको काम सुरु हुँदैछ।

मोटा धान प्रतिक्वीन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा खाद्यले खरिद गर्नेछ। खाद्यले पराल, भुस, पोकटा, माटो नभएको सफा धान खरिद गर्न लागेको हो। खाद्य तथा व्यापार कम्पनी धनगढीकी निमित्त प्रमुख इन्जिला बस्नेतले शक्तिमा धान खरिद सुरु भएको बताइन। उनले भनिन, ‘हामीले सूचना सार्वजनिक गरेका छौँ। शक्तिमा धान खरिदको काम सुरु भइसकेको छ।’

खाद्य तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा प्रतिकिसानबाट ५० क्वीन्टलसम्म धान खरिद गर्ने भएको छ। मोहनपुर, टीकापुर र शक्ति गोदामबाट खाद्यले धान खरिद गर्न लागेको हो। नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यले धान खरिद गर्न लागेको हो। यो वर्ष सरकारले प्रतिक्वीन्टल धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ।

खाद्यले कैलालीका किसानबाट सोही मूल्यमा धान खरिद गर्दैछ। उनले भनिन, ‘५५ हजार क्वीन्टल कोटा छ। अहिले तीन ठाउँमा लगाएका छौँ। स्थानीय तहले गोदाम दियो भने, काटा थप गर्छाै।’ खाद्यमा धान बिक्रीका लागि किसानले वडाको सिफारिस, परिचय खुल्ने कागज र स्वघोषणा पत्र ल्याउनुपर्ने छ। खाद्यले किसानलाई धानको रकम चेकमार्फत भुक्तानी दिने भएको छ। कैलालीमा ५५ हजार क्वीन्टल धान खरिदको लक्ष्य खाद्य तथा व्यापार कम्पनीको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...