
भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्। मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन्।
काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
‘जनकपुरबाट काठमाडौं पुगेर, त्यहाँबाट फर्किएर जनकपुर नै आउन लागेको बस राति अन्दाजी एक बजे दुर्घटनाग्रस्त हुन पुगेछ,’ उनले भने, ‘घाइते १७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा एकजना नेपाली पनि रहेको खुलेको छ। सनाखत हुन बाँकी छ।’
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।