
बलराम शिवाकोटी,
दोलखा, फागुन २७ । नेपाल शिक्षक संघ, दोलखाको नवौँ जिल्ला अधिवेशन सुरु भएको छ । शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा भन्ने मुल नाराका साथ उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्लाभरबाट आएका नेपाल शिक्षक संघमा आबध्द ३ सय भन्दा बढी शिक्षकको सहभागितामा सो कार्यक्रक सुरु भएको थियो । नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेलको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाको विशेष आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमा बोल्दै संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेलले राज्य सत्ताको असंवेदनशीलताको कारणले शिक्षकले सधैँ दुःख पाउने गरेको बताउँदै अब जारी हुने नयाँ शिक्षा ऐनले शिक्षकका अधिकांश माग सम्बोधन गर्ने बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले शिक्षक संघ शिक्षकका पेशागत मागहरुका बारेमा सधैँ आवाज उठाएको बताउँदै नेपाली कांग्रसको सरकारले मात्र शिक्षकका माग सम्बोधन गरेको र बाँकी मागहरु पनि कांग्रेसको सरकार र मन्त्रीहरुले मात्र सम्बोधन गर्ने बताए । अध्यक्ष पौडेलले भने ’शसस्त्र युद्दमा पनि शिक्षक संघका साथीहरु संगठन प्रति विचलित नभै अडिक भएर बसेका छन्, शिक्षक संघका साथीहरुको आफ्नो संगठन प्रतिको अविचलित यात्रा छ , हामी शिक्षकका हक र अधिकारका लागि लडिरहने छौँ । ’ मुलुकभर ८३ हजार शिक्षक संघमा आबध्द रहेकोसमेत अध्यक्ष पौडेलले बताए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले दोलखाको शिक्षक शिक्षक नेपाली कांगेस फुट्दा पनि सदैव एकजुट भएको र अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन हुनुपर्ने बताए । शिक्षक संघ दोलखाले पार्टीको हितमा खेलेको भुमिकाको प्रशंसा गर्दै सभापति लामाले आवश्यक परे सबैसँग छलफल गरेर सर्व सहमतिमा नेतृत्व चयन गर्न भूमिका खेल्ने बताए । समाज परिवर्तन गर्न शिक्षकको महत्त्वपूर्ण भूमिका हुने बताउँदै सभापति लामाले शिक्षकहरु सकरात्मक सोचका साथ अगाडि बढ्नु पर्ने र आफ्नो सदैब सहयोग र सद्भाव हुने बताए ।
उद्घाटन कार्यक्रमा नेपाली कांग्रेस दोलखाका पूर्व सभापतिहरु रुद्रबहादुर खड्का, ताराबहादुर कोइराला, नेपाल शिक्षक संघका बागमती प्रदेश उपमहासचिव दीपशंकर चौलागाईँ, पूर्व केन्द्रीय सदस्य तथा शिक्षक नेतृ गीता शिवाकोटी, तामाकोशी गाउँपालिका उपाध्यक्ष सृजना सुवेदी, कांग्रेस दोलखाका नेता केशव चौँलागाई, कांग्रेस नेता रामजी प्रसाद चौलागाई, ताराबहादुर कार्की तथा लगायत विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । नेपाल शिक्षक संघ दोलखाक अध्यक्ष गोबिन्दनारायण मानन्धरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षक संघमा रहेर योगदान गर्ने १८ जना शिक्षकलाई सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रमको संचालन शिक्षक संघ दोलखाका सचिव गिताकृष्ण शर्माले गरेका थिए । शिक्षक संघ दोलखाको जारी अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, अर्थसचिवसहित २७ सदसीय जिल्ला कार्य समित निर्वाचित गर्नेछ ।
यसैविच दोलखा जिल्लाभर हाल सम्म नवीकरण भएका शिक्षक संघमा आबध्द सदस्यहरुको संख्या ५४४ पुगेको शिक्षक संघ दोलखाका सचिव गीताकृष्ण शर्माले बताएका छन् । भीमेश्वर नगरपालिकामा १५७ , जिरी नगरपालिकामा ३१, गौरीशंकर गाउँपालिका १७, बैतेश्वर गाउँपालिका ९४, कालिञ्चोक गाउँपालिका ५५, विगु गाउँपालिका ५६, शैलुङ गाउँपालिका १९, मेलुङ गाउँपालिका ५० र तामाकोशी गाउँपालिकामा ६५ गरी कुल ५४४ जना सदस्य रहेको सचिव शर्माले बताए ।







